adgs

Sunday, December 20, 2015

फ्रि’ भीसा र टीकटको बल्ल अनुगमन गर्ने निर्णय

दिनेश रेग्मी, काठमाडौं
मंसिर २७, २०७२- सरकारले मलेसिया र खाडी मुलुकमा रोजगारीलाई जान ५ महिना अघिदेखि लागु गरेको ‘फ्रि भीसा र टीकट’ नाममात्रैको भएपछि श्रम तथा रोजगार मन्त्रालयले बल्ल अवस्था अनुगमन गर्ने निर्णय गरेको छ । ती देशमा जाने कामदारहरु ठगिएको गुनासो बढेपछि श्रमका सहसचिव तथा प्रवक्ताको संयोजकत्वमा त्यसको अनुगमन गर्ने निर्णय गरिएको हो ।
‘फ्रि भीसा र फ्रि टिकट’ को कार्यान्वयन अवस्था अध्ययन गरी प्रतिवेदन पेश गर्न आईतबारदेखि सहसचिव गोविन्दमणि भुर्तेललाई जिम्मा दिएको श्रम सचिव रामकुमार आचार्यले बताए । अचार्यले भने, ‘समितिले अनुगमन र अध्ययन गरी ८/१० दिनमा प्रतिवेशन पेश गर्ने छ ।’ भुर्तेल मन्त्रालयकै वैदेशिक रोजगार तथा अन्तराष्ट्रिय श्रम सम्बन्ध महाशाखाका प्रमुख समेत हुन् । जेठ २६ को श्रम राज्य मन्त्री स्तरीय वैठकले असार २१ देखि फ्रि भीसा र टिकटको निर्णय गरेको हो ।  

कामदारलाई फ्रि भीसा, फ्री टीकटसहितको न्यून लागतमा पठाउने निर्णय गरेकै बेला श्रम मन्त्रालयले विभिन्न मन्त्रालयका अधिकारी सहित ११ सदस्यीय अनुगमन समिति गठन गरेको थियो । तर, त्यो समितिले असारमा एउटा बैठक बाहेक अनुगमनको कुनै काम गरेन ।

सरकारले मलेसिया र खाडीका कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराईन, ओमन र कुवेत जाने कामदारलाई भीसा र दुई दुई हवाई टीकट निशुल्क हुने निर्णयसहित ती देशको लागि ०६० बैशाख २४ गते लागु गरेको लागत शुल्क खारेज गरेको थियो । तर, निशुल्कको निर्णय कार्यान्वयन नहुँदा कामदार पुरानै समस्यामा परेका छन् भने म्यानपावर कम्पनीलाई आयकर छल्न सहज भएको छ ।

‘फ्रि भीसा, फ्रि टीकट’को व्यवस्था अनुसार रोजगारमा जाने कामदारले वीमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, कल्याणकारी कोषको रकम भने आफै तिर्नुपर्ने छ । यसको लागि करिब ८ हजार रुपैया खर्च हुन्छ । म्यानपावर कम्पनीलाई रोजगारदाताले कमिसन शुल्क नदिएको प्रमाणीत भए कामदारसँग १० हजार रुपैयाँ सेवा शुल्क भनेर लिन सक्ने र त्यसको रसीद दिनुपर्ने भनिएको छ ।

No comments:

Post a Comment